
काठमाडौँ । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन जारी छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरू भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरिरहेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशन निर्धातिर समयमा केही ढिला गरी सुरु भएको थियो । पहिलो दिनमै महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान पेश गर्ने कार्यक्रम रहेको छ ।
यसअघिको एमालेको विधानमा केही व्यवस्था हटाइएको छ । पेश गरिने विधानबाट वरिष्ठ नेताको पद हटाएको छ । यसअघि निवर्तमान अध्यक्ष वरिष्ठ नेता रहने वैधानिक व्यवस्था रहेको थियो ।
अब एमालेमा पदाधिकारी भनेर अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ सचिवसहित १३ जनामात्र रहने छन् । त्यस्तै केन्द्रीय अनुशासन आयोग, लेखापरीक्षण आयोग र निर्वाचन आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १२ सदस्य हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी उपमहासचिवको व्यवस्था पनि हटाइएको छ । यसअघि २ उपमहासचिवको व्यवस्था गरिएको थियो । त्यस्तै एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाई महिलासहित समावेशी केन्द्रीय कमिटी गठन गर्ने प्रस्तावसमेत लगेको छ ।