
काठमाडौं । अखिल क्रान्तिकारीको सम्मेलनको बन्दसत्र आजबाट सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको विहीबार उद्घाटन भएको थियो ।
पर्सीसम्म चल्ने सम्मेलनको बन्दसत्र आजबाट सुरु भएको अखिल क्रान्तिकारीले जनाएको छ । बबरमहलस्थित कार्की पार्टी प्यालेसमा दिउँसो १२ बाट बन्दसत्र सुरु हुने भएको हो ।
बन्दसत्रमा प्रतिनिधिहरुले समूह बनाएर रिपोर्टिङ गर्नेछन् । त्यस्तै, संगठनकाे आगामी कार्यक्रम र विधान पनि बन्दसत्रले पास गर्ने भएको छ । आज साँझसम्म सम्मेलनमा समूहले रिपोर्टिङ गर्ने र भाेलि राजनीतिक प्रस्ताव र विधान पास गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ । तर, पूर्व निर्धारित कार्यतालिका अनुसार सम्पन्न हुन नसक्ने नेताहरुले बताएका छन् । संगठनको नयाँ अध्यक्षमा आधा दर्जन नेताहरुको दाबी भएपनि मुख्यगरी दुई जनाको चर्चा बढी छ ।
अध्यक्षमा निवर्तमान उपाध्यक्ष पन्चा सिंह र सुरेन्द्र बस्नेतको बढी चर्चा छ । सिंह र बस्नेतमध्ये एक जना अध्यक्ष हुनेछन् । तर महासचिव उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको दाबी गरिरहेका छन् ।
नेताहरुले सहमतिबाटै नेतृत्व चयन गर्ने भनेपनि त्यो सम्भावना कम रहेको छ । सहमति नभए अघिल्लो सम्मेलनमा जस्तै चुनावमा जाने विद्यार्थी नेताहरुले बताएका छन् ।
जनयुद्धबाट विद्यार्थी संगठनको नेतृत्व गर्दै आएकी पञ्चा सिंहलाई अध्यक्ष बनाउन प्रतिनिधिहरुले नेताहरुलाई दवाव दिएका छन् । महिला नेतृलाई पहिलो पटक अध्यक्ष बनाएर इतिहास रच्ने अबसर अखिल क्रान्तिकारीको अगाडि आएको भन्दै प्रतिनिधिहरुले त्यो नगुमाउन नेताहरुलाई दवाव दिइरहेका छन् ।