
काठमाडौं । नेकपा एमालेका प्रवेश गरेका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ लाई विधान महाधिवेशनको मुखमा दुई झट्का लागेका छन् ।
कुमार पौडेलको हत्यामा किटानी जाहेर दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रथम विधान महाधिवेशन सुरु हुन एक दिन मात्रै बाँकी रहँदा सर्वोच्चले पौडेलको इन्काउन्टरको नाममा हत्या गरिएकोबारे परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको छ ।
कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई गैरकानूनी रुपमा हत्या गरिएको भन्दै प्रहरीमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाउन खोजेकी थिइन् । हुलाकमार्फत जाहेरीपत्र पाएको सर्लाहीको जिल्ला प्रहरी कार्यालयले विश्वसनियता यकिन गर्न नसकेको भन्दै प्रक्रिया अघि बढाएको थिएन ।
सरकारी वकिलको कार्यालयमा समेत उनले निवेदन दिएकी थिइन् । तर सरकारी वकिल कार्यालयले पनि जवाफ नदिएपछि उनी अदालतको शरणमा पुगेकी थिइन् ।
सर्वोच्चले आदेशको सूचना प्राप्त भएको मितिले सात दिनभित्र आफूसमक्ष प्राप्त भएको निवेदिकाको जाहेरी दर्खास्त जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा–निवेदिकाबाट सनाखत गराउने उपयुक्त व्यवस्था मिलाई निवेदिका दुर्गादेवी पौडेललाई भरपाई उपलब्ध गराई यथाशिघ्र जानकारी गराउन सर्वोच्चले आदेश दिएको छ ।
उक्त आदेशमा तत्कालिन गृहमन्त्री बादल, प्रहरी प्रमुख सर्वेन्द्र खनालसहित १० सरकारी अधिकारीमाथि अनुसन्धान गर्न भनिएको छ । त्यस्तै, सर्लाहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश प्रहरी प्रमुख तत्कालिन डिआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय, लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. बीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्ने भनिएको छ ।
विशेष ब्यूरोबाट खटिएको टोलीको गोली हानी ५ असाज २०७५ मा हत्या गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोगले पौडेललाई गोली हानी हत्या गरिएको भन्दै कारवाहीको लागि सिफारिस गरेको थियो ।
यसैबीच एमालेमा बादलको बरियता घटाइएको छ । बादलको बरियताक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल पारिएको छ । प्रदेशको इन्चार्ज समेत रहेका बादल बिहिबार गठित बाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीमा शाक्यभन्दा तल परेका छन् ।
पार्टीले ओलीपछिको सहअध्यक्ष बनाउने भनिएका प्रदेश इञ्चार्ज बादललाई शाक्यभन्दा तलको बरियतामा राखिएको हो । ४ सय ७७ सदस्यीय बाग्मती प्रदेश महाधिवेशन आयोजक कमिटीमा बादल इञ्चार्जसहित दोस्रो वरियतामा रहँदा शाक्यलाई सबैभन्दा माथि राखिएको छ ।
प्रथम विधान महाधिवेशनको मुखमा बादललाई यी घटनाले झट्का लागेको बताइएको छ ।