
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले एमसीसीमा सहि छाप गरिसकेको भन्दै अब संशोधन नहुने बताए । उनले अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुले गरेको कार्यक्रममा सो कुरा बोलेका हुन् ।
परराष्ट्रमन्त्री खड्काले एमसीसी आफूहरुले मागेको भन्दै अनुदान परियोजना भएको बताए । अहिले संशोधनको कुरा गर्ने भए सम्झौतामा गर्दा किन राम्रोसँग नपढेको भन्दै प्रश्न समेत गरे । उनले राष्ट्रिय सहमति भएपछि एमसीसी अगाडि बढाउने जानकारी समेत दिए ।
मन्त्री खड्काले एमसीसीको अन्तर्राष्ट्रिय मापदण्ड रहेको बताउँदै नेपालले संशोधन गर्दा अन्य देशमा परियोजना प्रभावित हुने बताए । उनले सामाजिक सञ्जालले एमसीसीबारे नकारात्मक प्रचार गरेको बताए । “गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ । म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डला खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौ भन्ने नारा लाग्छ” खड्काले भने ।
खड्काले एमसीसीको पक्षमा बोलिरहँदा सहभागीहरुले उसको प्रतिनिधि जसरी बोलेको भन्दै आलोचना गरिरहेका थिए ।
कार्यक्रममा बोल्दै बाबुराम भट्टराईको नेतृत्वको सरकारबाट एमसीसी सुरु भएको र प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा अर्थमन्त्रीलाई पठाएर हस्ताक्षर भएको बताए ।