
काठमाडौं । बुद्ध एयरको अर्को जहाजमा पनि समस्या पैदा भएको छ । यसअघि काठमाडौँबाट विराटनगरको लागि उडेको जहाज दुई घण्टापछि काठमाडौँमै अवतरण गरेको थियो । आजै पोखराको लागि उठेको जहाजको ककपिटमा धुँवा देखिएपछि पोखरा बस्न नसकी काठमाडौँ फर्किएको हो ।
काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ ।
आजै बिहान काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको एउटा जहाज अवतरण गर्ने बेला पाङ्ग्रा नखुलेपछि काठमाडौंमै फिर्ता भएको थियो ।
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर (पाङ्ग्रा) नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।
बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालका अनुसार काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरेको थियो ।