
काठमाडौँ । पार्टी विभाजनको अन्तिममा नेकपा (एमाले)मै फर्र्किएका नेताहरुले भूमिकाविहीन हुने देखिएको छ । एमाले एकताको लागि तयार गरिएको १० बुँदे कार्यान्वयनको आवश्वासन पाएका उपाध्यक्ष भीम रावलसहितका नेताहरुलाई भूमिकाविहीन हुने भएका हुन् ।
उनीहरुसहित माधव कुमार नेपालले नयाँ पार्टीको तयारी गरेका थिए । तर, अन्तिममा आएर माधव कुमार नेपालको साथ छोडेर एमालेमै फर्किएका तेस्रो धारका नेताहरु फेरि असन्तुष्ट बनेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले एमाले जेठ २ भन्दा पहिलेको अवस्था फर्किने र १० बुँदे सहमति कार्यान्वयन गर्ने वचन दिएका थिए । विधान महाधिवेशनको लागि तयार गरिएको दस्तावेजमाथि भने एमालेमै फर्किएर तेस्रो धार बनाएका नेताहरुलाई भूमिका दिइएन । विधान महाधिवेशको लागि तयार गरिएको राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि सुझाव दिन तेस्रो धारबाट टोली प्रमुख बनाइएन ।
माधव नेपाललाई एमालेमा तेस्रो धार बनाएका दुई मुख्यमन्त्री, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्यम भुसाल, सचिव योगेश भट्टराईसहितका नेताहरुले आफ्नो तर्फबाट पनि टोली नेता बनाउन माग गरेका थिए । तर, अध्यक्ष ओलीले कुनै सुनुवाई नै गरेनन् । सुझाव दिन टोली छान्दा ओलीले एकलौटी गरेको भन्दै तेस्रो धारका नेताहरुले असन्तुष्ट बनेका छन् ।
त्यसैगरी एमालेले पूर्वमाओवादी नेताहरुलाई दिएको जिम्मेवारी यथावत राख्ने भएपछि तेस्रो धारका नेताहरु झन् झस्किएका छन् । सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट, बागमती प्रदेशको इन्चार्ज रामबहादुर थापा नै हुने एमालेको निर्णय गरेको छ ।
आफूहरुले पेलाई खाने भएपछि तेस्रो धारका नेताहरुले आपसी छलफल समेत गरेका छन् । एक नेताका अनुसार १० बुँदे कार्यान्वयन नहुने भएपछि आफूहरुले विद्रोह गर्नुपर्छ भन्नेमा अधिकांशको मत रहेको छ । त्यसको लागि पार्टी केन्द्रीय समितिमा २० प्रतिशत पुर्याउने अभ्यास सुरु भएको छ । त्यसको लागि छलफल थालिएको बताइएको छ ।
पार्टी अलग गर्दा वा एमालेमै बस्दा पनि टीम नदेखाई नहुने अवस्थामा आफूहरु पुगेको तेस्रो धारका एक नेताले बताए । उनले भने, “हामीले अहिले नै एमाले छोड्ने सोँचेका छैनौं तर पार्टीमा काम गर्ने वातावरण निरन्तर भइराख्यो भने बस्न सकिँदैन ।” दल सम्बन्धी अध्यादेश भएकै अवस्थामा केन्द्रीय समितिमा २० प्रतिशत संख्या पुर्याउने र आवश्यक परे पार्टी नै विभाजन गर्ने तयारीमा तेस्रो धारका नेताहरुले छलफल सुरु गरेका छन् ।
माधव नेपाललाई छोडेकै कारण तेस्रो धारबाट अहिले वागमती प्रदेश र प्रदेश नम्बर १ मा मुख्यमन्त्री पाएको छ । वागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य दुबै अल्पमतमा परेका छन् । विपक्षी गठबन्धनले तिहार अघि नै दुबै प्रदेशमा आफ्नो सरकार बनाउने बताइसकेका छन् । मुख्यमन्त्रीबाट हटेपछि तेस्रो धारका नेताहरुले पार्टी र सरकारमा कुनै ठाउँमा जिम्मेवारी नपाउने निश्चित जस्तै भएको एमाले नेताहरु नै बताउँन् । यसले पनि तेस्रो धार बनाएका नेताहरुले पार्टी विभाजनको आवश्यकता पर्ने देखिएको राजनीतिक विश्लेषक बताउँछन् ।