
काठमाडौँ । नेकपा एमालेको नाराबाजी र अवरोधबीच संशोधित बजेट पारित भएको छ । एमाले सांसदको अवरोधबीच सदनमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट दुबै सदनबाट पारित भएको हो ।
नयाँ बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि त्यसलाई कार्यान्वयनमा लगिनेछ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट संशोधन गर्दै अर्थमन्त्री शर्माले बजेट प्रतिस्थापन विधेयक अघि सारेका थिए ।
आजको संसद बैठकमा अर्थमन्त्री शर्माले दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।