
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने बताएको छ । एकीकृत समाजवादीको केन्द्रीय समितिले यथास्थितिमा संसदबाट अनुमोदन गर्न नसकिने बताएको हो ।
बुधबारदेखि सुरु भएको आज सम्पन्न भएको छ । बैठकले एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नभएको निष्कर्ष निकालेको छ । यसलाई राष्ट्रिय हित अनुकुल बनाएर राष्ट्रिय सहमतिका आधारमा मात्र अगाडि बढाउन सकिने एकीकृत समाजवादीले बताएको छ ।
यसैबीच एकीकृत समाजवादीले आज पदाधिकारीको पनि टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको छ । अध्यक्ष माधव कुमार नेपालसहित १३ पदाधिकारी बनेका छन् ।
उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् भने बेदुराम भुसाल महासचिव बनेका छन् ।
त्यसैगरी उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् भने सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।
पदाधिकारीलाई केन्द्रीय समितिबाट अनुमोदन गर्ने बताइएको छ ।