
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सबै तहको नेतृत्व निर्वाचन विधिबाट चयन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रले नयाँ बनाएको कार्यविधिले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको तय गरेको छ ।
माकेले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । त्यसअघि सबै तहमा नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्दै नयाँ कार्यविधि बनाइएको हो । माओवादी केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचन हुने कार्यविधिमा उल्लेख छ ।
माओवादी केन्द्रले यो कार्यविधि लागु गरे अब अध्यक्ष बन्नाको लागि प्रचण्डले पनि चुनाव लड्नु पर्ने हुन्छ । त्यस्तै, अन्य पदाधिकारीको लागि पनि चुनाव हुने भएको छ ।
अध्यक्ष प्रचण्डले सोमबार आयोजित केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमार्फत सबै तहको नेतृत्व निर्वाचन प्रक्रियाबाट चयन हुने भन्दै त्यसैअनुसार तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधि र पद्धतिसम्मत रुपमा पार्टी सञ्चालन गरिने बताए । अबदेखि पार्टीका सबै कमिटीका सदस्यदेखि पदाधिकारीसम्म निर्वाचनमार्फत चुनिने भन्दै उनले निर्वाचन आयोगको जानकारी र उपस्थितिबिना कुनै पनि कमिटीको निर्वाचन वा सम्मेलन नहुने स्पष्ट गरे । ‘विधिसम्मत निर्वाचन सम्पन्न भएर आयोगले प्रमाणपत्र दिएर प्रमाणित नभएसम्म त्यसले आधिकारिकता नपाउँने प्रचण्डले बताए ।
बैठकमा केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठले निर्वाचन नियमावली, कार्यविधि र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए । बैठकमा १ सय ८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रदेश निर्वाचन समितिका पाँच/पाँच जना सहभागी रहेको नेता पुनले जानकारी दिए । प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने उनले बताए ।