
काठमाडौं । नेकपा एमालेको नाराबाजीबीच संसदबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभामा एमाले सांसदहरुले नाराबाजी गरेका थिए ।
प्रमुख प्रतिपक्षी समेत रहेको एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध सिर्जना गरे । तर, सभामुखले कार्यतालिका अनुसारको प्रक्रिया अगाडि बढाए । विधेयकको मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिए लगत्तै सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे ।
सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए । सत्तारुढ गठबन्धनका सांसदहरुले ताली बजाएसँगै विधेयक बहुमतले पारित सभामुखले घोषणा गरे ।
विनियोजन विधेयक पारित भएपछि सभामुख अग्नी सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक विधेयक २०७८ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।
सभामुखले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि सांसद प्रेम सुवाललाई ३ मिनेट समय दिएका थिए । सुवालले बोलिसकेपछि सो विधेयक सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्ता गठबन्धनको बहुमत भएकोले सो विधेयक स्वीकृत भएको थियो । त्यस्तै, अर्थमन्त्रीले सभामा प्रस्तुत गरेको राष्ट्र ऋण उठाउने विधेयक २०७८ पनि बहुमतले स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जान्छ । राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधिसभाले सभामुख मार्फत राष्ट्रपतिकहाँ पठाउँछ र कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट होलिडेको अन्त्य हुनेछ ।