
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद सचिवालयले बैठक विहान ११ बजे बस्ने सूचना निकालेर जानकारी दिएको छ ।
संघीय संसद सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक माथिको छलफल र जवाफलाई सम्भवित कार्यसूचीमा राखिएको सचिवालयले जनाएको छ।
गत भदौ २३ गतेबाट सुरु भएको संसदको अधिवेशन नेकपा एकालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको छ। आज पनि नेकपा एमालले नाराबाजी गर्ने बताइएको छ । एमालेको नाराबाजीबीच विनियोजन विधेयक माथिको छलफल गर्ने संसद सचिवालयको तयारी छ ।
सरकारले एमालेको नाराबाजीबीच बजेटको प्रतिस्थापन विधेयक पेश गरेको थियो । उक्त विधेयक पारित हुन नसक्दा अहिले बजेट होलिडे छ । सरकारले उक्त विधेयक असोज १२ गतेभित्र पारित गरेर बजेट होलिडे अन्त्य गर्ने तयारी छ । त्यसको लागि एमालेको अवरोधबीच संसदको नियमित कामलाई अगाडि बढाउने सभामुखको तयारी छ ।
आजको बैठकमा विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन् ।
सांसदहरुले बजेटमाथि हालेका संशोधन प्रस्तावमाथि छलफल हुनेछ । त्यसमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनेछन् । त्यसपछि संशोधन प्रस्ताव स्वीकृत र अस्वीकृतको चरणमा जान्छ । सरकारको बहुमत भएकाले संशोधन प्रस्ताव अस्वीकृत हुने देखिन्छ । त्यसपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।
विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी तयारी छ ।