
काठमाडौँ । संविधान जारी भएको ६ वर्ष पूरा भएको छ । आज संविधान दिवसको अबसरमा सरकारले विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना भाइरसका कारण विगतमा जस्ता कार्यक्रम नभएपनि नेपाल र विदेशमा रहेका नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । दिवसका अवसरमा आइतवार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क स्मारिका प्रकाशन गरिएको छ ।
काठमाण्डौ उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकाम सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले समन्वय गरेका छन् ।
नेपालमा पहिलो पटक संविधानसभाद्वारा २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधानसभाकै लागि नेपालमा धेरैका रगत पसिना बगेको थियो । २००७ सालपछि केही कहीँ उठ्ने संविधानसभाको माग जनयुद्धले निष्कर्षमा पुर्याएको थियो । जनयुद्ध हुँदै जनआन्दोलनसम्म आउँदा संविधानसभाकै लागि धेरैको रगत पसिना बग्यो । संविधानसभाबाट बन्ने संविधानले राजनीतिक र नागरिकको जीवनमा जुन परिवर्तन ल्याउला भनेर रगत बगाइएको थियो । त्यो हुन सकेन ।
नेपालको राजनीतिक अवस्था र नागरिकको जीवनमा मजबुती र परिवर्तन आउनुको साटो झनझन आरोलो लाग्दो अवस्था छ । नयाँ संविधानले राजनीतिक स्थिरता ल्याउनेछ भनिएको थियो । तर, ६ वर्षसम्म आउदा झन् अस्थिरता ल्याएको छ । त्यस्तै, नयाँ संविधानले नागरिकको जीवनमा समृद्धि ल्याउने भनिएको थियो तर नागरिकका जीवन झनझन दयनीय बन्दै गएको छ । दण्डहिनता बढाएको छ । रोग भोक झन डरलाग्दो बन्दै गएको छ । हरेक क्षेत्रमा दलाली र माफियाको जगजगी बढ्दै गएको छ ।
संविधानमा सबैको अपनत्व छैन । प्रदेश २ ले आज कुनै कार्यक्रम नगरी संविधानको विरोध जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले विरोधमा कार्यक्रम सार्वजनिक गरेको छ । विप्लल नेतृत्वको नेकपालगयातका पार्टीहरुले आजको दिनलाई कालो दिन भएको बताउँदै आएका छन् ।