
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तत्काल शैशिक्ष संस्था भौतिक उपस्थितिमा संचालन नगर्न आदेश जारी गरेको छ । कोरोना भाइरस संक्रमण घटेसँगै काठमाडौँका शैक्षिक संस्था आजबाट संचालन गर्ने तयारी भइरहेको बेला विहीबार सो आदेश जारी भएको हो ।
यसअघि काठमाडौँ उपत्यकामा निषेधाज्ञा हटाउँदै स्थानीय सरकारसँगको समन्वयमा शैक्षिक संस्थाहरु खोल्न सक्ने गरी आदेश जारी भएको थियो । विहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोना नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यलय काठमाडौले सात बुँदे आदेश जारी गरेको छ ।
आजबाट लागु हुने गरी जारी गरिएको आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने र गर्नैपर्ने भएमा महानगरपालिका तथा नगरपालिहरुले विद्यालय सञ्चालन पूर्व आआफ्नो पालिकासँग समन्वय गर्नुपर्ने, आनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कन नपाइने, सभा, जुलुस गर्न नपाइने, जात्रा महोत्सव भोज गर्न नपाइने उल्लेख छ ।
त्यस्तै स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्ममात्र गर्न पाउने आदेशमा उल्लेख छ । सो आदेश उलंघन गरे कारबाही समेत गर्ने काठमाडौँ जिप्रकाले जनाएको छ ।