
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी पार्टी मित्रहरूको खोजीमा रहेको बताएका छन् । प्रचण्डले माओवादी केन्द्रका शिर्ष नेता पोष्टबहादुर बोगटी ‘दिवाकर’ को ७ औं स्मृति दिवसको अबसरमा आयोजित कार्यक्रममा बोल्दै आफूहरु मित्रहरुको खोजीमा रहेको समेत बताए ।
अध्यक्ष प्रचण्डले आगामी चुनावमा पहिलो पार्टी हुने दाबी गरेका छन् । उनले जनयुद्धमा सुरुगर्दा पनि कसैले नपत्याएको तर छोटै समयमा कसैले नसोचेको उथुलपुथुल ल्याएको बताए ।
“हामीले जनयुद्ध सुरु गर्दा पनि कसैले पत्याएका थिएनन्, शान्ति प्रक्रियामा आएपछि पनि पहिलो पार्टी हुन्छ भनेर कसैले पत्याएका थिएनन्, जनतालाई प्रचण्डलाई देखियो, एकपटक छुन पाए हुन्थ्यो भन्ने थियो, तर विपक्षीहरुले बन्दुक देखाएर दुई–चार सिट ल्याउँछ भन्थे” प्रचण्डले भने । उनले नेपाली जनताले माओवादी नै देशभक्त, गणतन्त्रवादी, संघीयतावादी शक्ति रहेछ भन्ने थाहा पाइसकेको बताए ।
बुधबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अहिलेकै गठबन्धन चुनावसम्म जाने र दुई तिहाईको सरकार फेरि बन्ने दाबी गरे । उनले गठबन्धन अगाडि नबढे सडक आन्दोलनमा अगाडि जाने विकल्पमा अगाडि बढ्ने बताए । उनले विकृत प्रणालीलाई बदल्नको लागि सडकमा जानुपर्ने अवस्था आउन पनि सक्ने बताए ।
देशमा प्रतिक्रान्ति, प्रतिगमन नहोस् भनेर संविधान गणतन्त्र र लोकतन्त्रका पक्षपातीहरुको गठबन्धनलाई अगाडि लिएर जाने कुरालाई पहिलो प्राथमिकतामा राख्ने भन्दै प्रचण्डले आउँदो निर्वाचनबाट माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
प्रचण्डले माओवादी पार्टी निर्माण र रुपान्तरणको महान अभियानतिर अगाडि बढेको बताउँदै ८÷१० वर्ष अरुलाई गाली गरेर बिताएको बताए । उनले मैले बिगारेँ म सच्चिनपर्छ भन्नेबाट सुरु भयो भने यो पार्टी बन्ने समेत बताए ।
अध्यक्ष प्रचण्डले दिवाकर सरल हुनुुहन्थो, सहज नेता भएको बताउँदै जहाँजहाँ पार्टीलाई असजिलो पर्यो त्यहाँ स्मरण हुने बताए ।