
काठमाडौँ । हालै सत्तामा आइपुगेको तालिबानले आफ्ना पुराना हर्कत झल्काउने कार्य गर्न थालेको छ । फोटो खिचेको आरोपमा दुई जना पत्रकारलाई घण्टौं नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका छन् ।
समाचार संस्था एएफपीका अनुसार काबुलमा भएको विरोध प्रदर्शनको समाचार संकलन गर्ने पत्रकारलाई प्रहरी चौकीमा लगेर घण्टौ निर्घात कुटपिट गरेर छोडिएको छ । पीडित इन्फरमेसन डेलिका फोटोग्राफर नेमातुल्लाह नक्दीले आफूहरुलाई डन्डा, विद्युतीय तार र कोर्राले हिर्काएको बताए ।
नक्दीकाले भने, “एक जना तालिबानले मेरो अनुहारलाई कंक्रिटतर्फ फर्काएर उसको खुट्टा मेरो टाउकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टाउकोमा हिर्काए ‘ उनीहरूले मलाई मार्न गइरहेका थिए भन्ने सोचें ।”
सत्ता कब्जा गरेपछि तालिबानीले समावेशी शासन चलाउने बताएपनि महिलालाई सरकारी सबै निकायमा समावेश गराउन मागसहित गरिएको प्रदर्शनलाई तालिबानीले दबाएको छ । यसैबीच तालिबानले न्याय मन्त्रालयको अनुमति विना गरिने प्रदर्शनलाई गैरकानुनी घोषणा गरेको छ ।
तालिबानीबाट कुटाई खाएका दुबै जना इन्फरमेसन डेलिमा कार्यरत छन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार संकलन गर्न गएका थिए । नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै तालिबन लडाकुले आफूमाथि हमला गरेको बताए ।
पत्रकार नक्दीले तालिबानले आफ्नो क्यामेरा खोस्न प्रयास गरेको तर आफूले भिडमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए । तीन जना तालिबानले उनलाई प्रहरी चौकीमा लगे र पिट्न सुरु गरेका थिए । तालिबान अधिकारीहरूले प्रतिक्रियाको लागि बारम्बार अनुरोध गर्दा पनि जवाफ नदिएको एएफपीले जनाएको छ ।
पत्रकार नक्दीले आफूलाई किन कुटिएको भनेर सोध्दा तालिबानीले –“तँ भाग्यमानी छस्, तेरो टाउको त काटिएन” जवाफ दिएको बताए । तालिबानीको कुटाई खाएका पत्रकार दर्याबीले कुटपिटका कारण आफू हलचल गर्न पनि नसक्ने अवस्थामा पुगेको बताए । उनले तालिबानीले आफूहरुलाई शत्रुको रुपमा व्यवहार गरेको बताए । कुटपिटबाट हलचल गर्न नसक्ने बनाएर दुबै जना पत्रकारलाई केही घण्टापछि छोडिएको थियो ।
तालिबानले स्पष्ट नपारिएकोे इस्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्ने दाबी गरिहरेको छ । यद्यपि, प्रदर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दुव्र्यवहार बढिरहेको छ ।
हालैका दिनहरूमा आन्दोलन र विरोध प्रदर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कुटिएको, पक्राउ परेको र समाचार संकलन गर्नबाट वञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शासन गरेको तालिबानले यस्तो विरोध हुन्छ भन्ने सोचेका थिएनन् । विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकारहरूलाई तालिबानले दुव्र्यवहार गरेको छ ।
हालैका प्रदर्शनहरूले तालिबानले सत्ता हातमा लिएपछि गरेको अधिक सहनशील शासन गर्ने र देशको शान्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्रतिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ । इटिलात रोज पत्रिकाका प्रमुख जाकी दर्याबीले तालिबानको भनाइ खोक्रो रहेको बताए ।