
काठमाडौँ । पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष अविमेल गुजमान ‘गुन्जालो’ को मृत्यु भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यम एपीका अनुसार स्थानीय समयअनुसार आज विहान ६ः४० बजे गोञ्जालोको मृत्यु भएको हो ।
पेरु सरकारका न्याय मन्त्री अनबल टोरेसले गोञ्जालोको सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताएका छन् ।
पेरुको तत्कालिन फुजिमोरी सरकारले सन् १९९२ सेप्टेम्बर १२ मा राजधानी लिमाबाट गिरफ्तार गरेको थियो । दर्शनका प्राध्यापक गोन्जालोले सन् १९८० मा पेरुका जनताको मुक्तिको लागि जनयुद्ध सुरु गरेका थिए ।
चिनियाँ क्रान्तिका नायक माओको विचारलाई वादमा संश्लेषण गर्दै गोन्जालोले पेरुमा जनयुद्ध सुरु गरेका थिए । जनयुद्ध रक्षा हुँदै सन्तुलनबाट प्रत्याक्रमणको तयारीमा पुग्दा गोन्जालोको गिरफ्तारी भएको थियो । उनको गिरफ्तारीसँगै पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथले अहिलेसम्म पनि क्रान्तिलाई अगाडि बढाउन सकेको छैन ।
गोन्जालोले पेरुमा राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा जनयुद्धको घोषणा गरेका थिए । १२ वर्षको अवधिमा पेरुको एक तिहाई भूभागमा कब्जा जमाउन पुगेका थिए । आफूले नसकेपछि फुजिमरी सरकारले अमेरिकासँग गुहार मागेको थियो । गिरफ्तार गरेको ३० पुग्नभन्दा एक दिन पहिले मात्रै गोन्जालोको मृत्यु भएको हो ।
नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आज मात्रै गोन्जालोको रिहाईको माग गर्दै संवाद डबलीमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।
गिरफ्तार गरेको २९ बर्ष पूरा हुनुभन्दा एक दिन पहिले नेकपाले रिहाईको लागि कार्यक्रम गर्दैगर्दा गोन्जालोको मृत्यु भएको हो । रिहाईको लागि गरिएको यो नै अन्तिम कार्यक्रम भयो ।
नेकपाले गिरफ्तार गरेको दिनको सन्दर्भमा पारेर आइतबार काठमाडौँमा प्रदर्शन समेत गर्ने तयारी गरिहरेको थियो ।