
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज नेपाल पुग्दैछन् । उनी कतार एयरको उडानमार्फत नेपाल आउने बताइएको छ ।
नेपाल रहँदा फतिमाले एमसीसी परियोजना कार्यान्वयनको अवस्था बुझ्नुको साथै संसदबाट पारित गराउन कुटनीतिक पहल गर्ने बताइएको छ । उनले एमसीसी संसदबाट पास गरेर लागु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत राजनीतिक पार्टीका शिर्ष नेताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
उपाध्यक्ष फतिमा चार दिनसम्म नेपाल रहनेछन् । नेपालमा एमसीसी परियोजना खारेजीको लागि विरोध र दवाव सिर्जना भइरहेको बेला फतिमा नेपाल आउनुलाई महत्वको साथ हेरिएको छ ।
अमेरिकाले हिन्द प्रशान्त रणनीतिअनुसार नेपाललाई आफ्नो सैन्य छातामा राख्न एमसीसी लागु गर्न लागेको भन्दै विरोध भइरहेको छ । एमसीसी नेपालको हितमा नभएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न राजनीतिक पार्टी र नागरिक अगुवाहरुले केही दिनदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
यसैबीच एमसीसीकी उपाध्यक्ष फतिमाको नेपाल भ्रमणको विरोध पनि भइरहेको छ । युवाहरुले अन्तर्राष्ट्रिय विमानस्थलमै कालोझण्डा देखाउने तयारी गररिहेका छन् ।