
काठमाडाैँ । सापकोटाले संविधान, कानुनको बर्खिलाप आफूले कुनै काम नगरेको प्रस्ट पारेका थिए । तर, प्रतिनिधिसभाको दोस्रो बैठक आरम्भ भएलगत्तै नेकपा एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले आफू संविधान, ऐन, कानुनअनुसार अघि बढ्न प्रतिवद्ध रहेको बताए ।
यसअघि बुधबार नै बसेको पहिलो बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध तुल्याएका थिए । पहिलो बैठक अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका सभामुख सापकोटाले यस बीचमा एमालेका प्रमुख सचेतक तथा सचेतकसँग छलफलसमेत गरेका थिए ।
आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ ।
प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाए । पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाएको आरोप लगाए ।
सभामुख सापकोटाले एमाले सांसदहरुलाई विषय विचाराधीन रहेको र संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराएको बताए ।
एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए । एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुख सापकोटा आक्रोसित हुँदै सर्वोच्च अदालतमा विचाराधीन रहेकोले त्यस विषयमा प्रतिनिधिसभामा छलफल गर्न नमिल्ने बताए । त्यस्तै प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरीत सभामुख सापकोटाले बताए ।
एमाले सांसदहरुले सभामुखको व्यवहार मुर्दावाद भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटा चर्को शब्दमा बोलेका थिए । उनले सांसदहरुलाई मर्यादाबाहिर नजान चेतावनीसमेत दिए ।