
काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हटेको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई हटाउने र कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश जारी गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमणसँगै बन्द फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ । तर भदौ मसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न भने पाइने छैन ।
चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै काठमाण्डौ उपत्यकाका विद्यालय खोल्ने÷नखोल्ने निर्णय पालिकाले नै गर्ने भएका छन् ।
केही दिन पहिले मात्रै रात्रिकालिन व्यवसायीहरुले संयुक्त रुपमा सरकारलाई चाँबी बुझाएका थिए । व्यवसाय बन्द गरेर आफूहरुले कर्मचारीको तलव, भाडा र किस्ता तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनीहरुले चावी बुझाएका थिए ।
त्यसैगरी काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोनाको सङ्क्रमणदर न्यून भइरहेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने र यसको निर्णय भने पालिकाले नै गर्न सक्ने निर्णय गरेको छ ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको आदेशमा शैक्षिक संस्था सञ्चालन गर्दा भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्ने उल्लेख छ ।