आज :

जयसिंह प्रकरणः समितिले भन्यो– एसएसबीले तुइनको लट्ठा खुस्काएको हो, गृहले निकाल्यो काइते विज्ञप्ति

काठमाडौँ । दार्चुलाको ब्याँस गाउँपालिकाका युवा जयसिंह धामी बेपत्ता घटनाबारे छानविन गर्न गठन गरेको समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै संलग्नता रहेको किटान गरेको छ । तीन पटक म्याद थपेर एक महिना लगाएर तयार गरिएको प्रतिवेदन समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको छ ।

घटनाबारे छानविन गर्न गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएकै कारण जयसिंह महाकालीमा खसेर बेपत्ता भएको बताएको छ ।

महाकाली नदी तर्दातर्दै तुइन खुस्काइदिने जघन्य अपराधमा एसएसबीका सुरक्षाकर्मी दोषी रहेको ठहरसहितको प्रतिवेदन समितिले बुझाएको छ । समितिले प्रतिवेदन बुझाउन ढिलाई गरेका कारण विभिन्न प्रश्न उठेका थिए । संचारमाध्यमले घटनालाई गुपचुप पार्न खोजेको भन्दै प्रश्न उठाएपछि समितिले प्रतिवेदन बुझाउन बाध्य भएको हो ।

प्रतिवेदन सार्वजनिक गरिएको छैन तर गृहका अधिकारीहरुका अनुसार प्रतिवेदनले घटनामा भारतीय एसएसबीका सुरक्षाकर्मी संलग्न रहेको किटानी नै गरेको छ ।

व्यास गाउँपालिका–२, खाङदाङ मालका जयसिंह धामी महाकाली नदी तरेर गस्कु पुग्न केही दूरी मात्र बाँकी थियो तर भारतीय एसएसबीका दुई सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिएकै कारण उनी भेलमा खसेर बेपत्ता भएको प्रतिवेदनमा उल्लेख गरिएको बताइएको छ । प्रतिवेदनमा दोषीलाई कारबाही र पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन आवश्यक कूटनीतिक पहल गर्न सुझाव दिइएको छ ।

तर, मंगलबार साँझ गृह मन्त्रालयले काइते विज्ञप्ति निकालेको छ । गृहले भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको र थप अनुसन्धान गरी कारवाहीको पहल गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । गृहको यो विज्ञप्तिले जयसिंह धामीले न्याय पाउनेमा शंका गरिएको छ । छानविन प्रतिवेदनमा एसएसबीले नै तुइनको लट्ठा खुस्काइदिएको किटान गर्दा पनि गृहले घटनाबारे अनुसन्धान गर्ने विज्ञप्तिमा उल्लखे गरेको छ ।

“घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरूको संलग्नताका सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ” गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ । यो विज्ञप्तिले जयसिंहका परिवारले सरकारले न्याय दिनेमा शंका गरेका छन् ।
तर, गृहमन्त्री खाँणले प्रतिवेदन बुझ्दै कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए । यसबारे गृह सचिव पाण्डेले आज परराष्ट्रमा पत्राचारको तयारी गरेका छन् ।

साउन १७ मा सत्यतथ्य पत्ता लगाउन सहसचिव गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सम्मिलित पाँच सदस्यीय छानबिन समिति गठन गरेका थिए । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएकामा समय अपुग भएको भन्दै साउन २५, भदौ १ र ८ मा गरी तीन पटक म्याद थपिएको थियो । साउन २१ मा गृह मन्त्रालयबाट गएको छानबिन टोली भारतको गस्कुस्थित घटनास्थल पुगेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal