
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले पठाएको करिब चार करोड बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण नेपाल पुग्दैछ । एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदी, उपाध्यक्ष सुमन थापा, कोषाध्यक्ष राजीव श्रेष्ठ, मनिषराज घिमिरेलगायतको पहलमा संकलन भएको स्वास्थ्य सामाग्री नेपाल पुर्याउन अमेरिकी रक्षा मन्त्रालय सहयोग गरेको छ ।
कोरोना महामारीविरुद्धको अभियानमा सहयोग गर्ने उद्देश्यले एनआरएनए अमेरिकाले पठाएको ३ करोड ९६ लाख नेपाली रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाएको मनिषराज घिमिरेले जानकारी दिए । अमेरिकाको युटाह राज्यको साल्ट लेक सिटीबाट ४.८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको जहाज नेपालका लागि उडान भरेको थियो ।
स्वास्थ्य सामाग्री तथा उपकरण संकलन, अमेरिकी सरकार र नेपाल सरकारसँग समन्वयमा महत्वपूर्ण भूमिका खेलेका घिमिरेले अमेरिकी रक्षा मन्त्रालयले सम्पूर्ण ढुवानीको जिम्मा लिएको बताए । ढुवानी खर्च ३ करोड ९६ लाखमा जोडिएको छैन । कोरोना महामारीविरुद्धको लडाइँमा नेपाल सरकार र नेपाली जनतालाई सहयोग पुर्याउने उद्देश्यले आफूहरुले स्वास्थ्य सामाग्री पठाएको घिमिरेले बताए ।
स्वास्थ्य सामाग्री संकलन र पठाउन अमेरिकी सरकार र नेपाल सरकारसँग समन्वय गरेको भन्दै एनआरएन अमेरिकाका उपाध्यक्ष सुमन थापाले घिमिरेलाई धन्यवाद दिएका थिए ।
एनआरएन अमेरिकाले अक्सिजन कन्सनटेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रान्सफरमर २६ थान, ठूलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाब टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ती सामग्री पठाएको बताइएको छ ।
स्वास्थ्य उपकरण र सामग्री आज नेपाल आइपुग्ने बताइएको छ । स्वास्थ्य सामाग्री हस्तान्त्रणको लागि एनआरएन अमेरिकाका अध्यक्ष सुवेदी पनि काठमाडौं आउँदै छन् ।
अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोन कार्यक्रममार्फत सहयोग सामग्री नेपाल पठाइएको एनआरएन अमेरिकाले जनाएको छ । यस कार्यक्रमले अमेरिकामा रहेका प्रतिष्ठित गैर नाफा मूलक संस्थाले सङ्कलन गरेको दान सहयोगलाई सम्बन्धित देशसम्म पु¥याउन सहयोग गर्ने छ । एनआरएनए अमेरिकालाई अमेरिकी सरकारको डेन्टोन कार्यक्रमसम्म जोड्न उपलब्धिको रूपमा लिइएको छ ।