
काठमाडौँ । देशभर वर्षा भइरहेको छ । वर्षासँगै आएको बाढीले तराईमा डुबान भएको छ भने ठाउँठाउँमा पहिरो आउँदा सडक अवरुद्ध भएका छन् । वर्षाले पश्चिम नवलपरासीका झरही, तुरिया र पानभार खोलामा आएको बाढीले २ सयभन्दा बढी घर डुबानमा परेका छन् । सयौं बिघा खेतीमा बाढीले क्षति पुर्याएको छ ।
स्थानीयका अनुसार सदरमुकाम परासीमा झरही खोला बस्ती पस्दा १ सयभन्दा बढी घर जलमग्न भएका छन् । मुख्य बजारको सडकमा खोला पसेपछि पसल तथा उद्योगमा समेत क्षति पुगेको छ ।
डुबानको क्षतिको विवरण प्राप्त भइसकेको छैन । यस्तै, जिल्लाका सुनवल, बर्दघाट, सरावल, प्रतापपुर र सुस्ता क्षेत्रमा पनि १ सयभन्दा बढी घर डुबेका छन् । बाढीले सुनवलस्थित महेन्द्र राजमार्गको डाइभर्सनमा क्षति पुर्याउँदा यातायात बन्द रहेको छ । सुनवलको तुरिया पुलमा पनि क्षति पुगेको छ ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार डुबान र कटान भएका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेर उद्धारकार्य थालिएको छ ।
त्यसैगरी वर्षासँगै आएको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । प्रहरीका अनुसार बिहीबार राति उक्त mसडकखण्डको सेती दोभानमा खसेको पहिरो पन्छाइ नसकेका कारण सडक अवरुद्ध छ । सेती दोभानमा राति ८ः२० बजेको समयमा ठूलो पहिरो खसेको थियो ।