
काठमाडौं । माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दल दर्ताको मान्यता पाएको छ । एमालेबाट अलग भएका नेताहरुले गठन गरेको एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएको छ ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले आज सनाखतको लागि बोलाएको थियो । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् ।
एमालेका २०३ सदस्यीय एमाले केन्द्रीय कमिटीका ५५ जनाले सनाखत गराएका थिए । त्यसैगरी ३० जना सांसदले नयाँ दल दर्ताको लागि सनाखत गराएका छन् ।
नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने भनेर निवेदन दिएको थियो । आयोगमा यसबारे पनि छलफल भएको थियो । नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ ।
यस्तै २९ जना संघीय संसदले पनि नेकपा एकीकृत समाजवादी रोजेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । मंगलबार मात्र दल एकीकृत समाजवादीमा आउन निवेदन दिएका चार जनाले भने सनाखत गर्न पाएनन् । उनीहरुको हकमा आयोगले उपयुक्त निर्णय गर्ने विश्वास दिइएको नेता पाण्डेले बताए ।
अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ । यो बीचमा एमालेका धेरै नेताहरु नेपालको नयाँ पार्टीतिर लाग्ने अनुमान गरिएको छ । दल त्याग गरेपनि कुनै कारवाही नहुने भएकोले प्रदेश र स्थानीय जनप्रतिनिधिलाई सजिलो भएको छ ।
दल दर्ताको प्रमाणपत्र आएपछि अध्यक्ष माधवकुमार नेपालले एमालेमा विद्रोह गरेर नयाँ पार्टी गठनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनलाई बदनाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गर्न २०७८ भदौ २ गते निर्वाचन आयोगमा निवेदन दिएको र आज २०७८ भदौ ९ गते संघीय संसदका ३४ जना माननीय सांसदहरू र तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कमिटीका ५९ जना सदस्यहरू निर्वाचन आयोगमा सशरीर उपस्थित भएको बताएका छन् ।
“अनेकौं प्रलोभन, दबाब, डर र त्रासका बाबजुद सतिसाल जस्तै उभिँदै विद्रोहमा सामेल हुनुहुने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, संघीय संसदका सदस्यहरु लगायत सम्पूर्ण समर्थक, शुभचिन्तकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं” अध्यक्ष नेपालले भने । उनले विद्रोहलाई सिर्जनामा परिवर्तन गर्ने समेत बताएका छन् ।
एकीकृत समाजवादीका एक नेताका अनुसार आफ्नो दल छिटै सरकारमा सहभागी हुने बताएका छन् ।
त्यसैगरी महन्थ ठाकुर नेतृत्वको पार्टीले पनि दलको मान्यता पाएको छ ।