
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्न लागेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्न लागेको छ ।
बैठकमा तेस्रो धारमा रहेका नेताहरु पनि सहभागी हुन भएका छन् । सोमबार भएको ओलीसँगको वार्ता सकारात्मक भएको भन्दै तेस्रो धार खडा गरेका नेताहरु आफूहरु एमालेमै रहने भन्दै बैठकमा सहभागी हुन लागेका हुन् । उनीहरु १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सोमबारसम्मको अल्टिमेटम दिएका थिए ।
लामो समयदेखि नेता माधव नेपाल समूहमा रहेका तर नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल भिम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, लगायतका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न ओलीलाई अल्टिमेटम दिएका थिए । मागप्रति अोली सकारात्मक भएपछि एमालेकै रहने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।
स्थायी कमिटी बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुको भनाइ छ ।
ओली र नेपाल पक्षका ५–५ जना नेताहरु सम्मिलित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि २७ असारमा १० बुँदे सहमति तयार पारेको थियो । तर उक्त सहमति कार्यान्वयन नहुँदै नेता नेपालले आफ्नो अध्यक्षतामा नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एकताको भ्रममा नपर्न आग्रह गरेका छन् । उनले एकताको कुरा ढिला भइसकेको बताउँदै नेपालले ओलीको एकताको प्रयास भइरहेको भन्दै भ्रममा छरेको बताएका छन् ।