
काठमाडौँ । अन्ततः नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटेको छ । वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको छ । नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको छ ।
नवगठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको बताए । नयाँ पार्टीको अध्यक्ष नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी ३१ सांसद लागेका छन् ।
नयाँ पार्टीको केन्द्रीय कमिटी ९५ जनाको रहेको छ । जसमा नेपाल समूहका दोस्रो तहका अधिकांश नेताहरु छैनन् । दल दर्ताको निवेदन दिएपछि नेता पाण्डेले नयाँ पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढाउने बताए ।
एमालेमा रहेका साथीहरुसँग शत्रुतापूर्ण व्यवहार नगर्ने बताउँदै पाण्डले अल्मलिएर बसेका नेता कार्यकर्ताहरुलाई नयाँ पार्टीमा आउन अपील सेमत गरे । उनले ओलीसँग पार्टी एकता हुन नसक्ने बताए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेकी थिइन् । राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सोही अध्यादेशको जगमा एमाले र जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजन भएका हुन् ।
यसैबीच नेपाल समूहसँग नगएपछि नेतृ अष्टलक्ष्मी शाक्यलाई बागमती प्रदेशका मुख्यमन्त्री बनाउने एमालेले निर्णय गरेको छ । नेपालसँग सम्बन्ध तोडेर फर्केका नेताहरुलाई फकाउन ओलीले शाक्यलाई मुख्यमन्त्री बनाउन लागेका हुन् । मुख्यमन्त्री डोरमणी पौडेलले राजिनामा दिइसकेका छनु् ।