
काठमाडौँ । अब नेकपा एमालेको विभाजनलाई कसैले रोक्न नसक्ने अवस्थामा पुगेको छ । नेता माधव कुमार नेपाल समूहका नेताहरु नयाँ पार्टी दर्ता गर्ने तयारीमा लागेका छन् । पार्टी दर्ताको लागि आवश्यक कागजपत्र तयार भइसकेको बताइएको छ ।
सबै तयारी पूरा भइसकेकाले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेलगत्तै नयाँ पार्टी दर्ता गर्ने एक नेताले बताए । पार्टी विभाजनलाई रोक्ने भन्दै एमालेको संस्थापन पक्षले नेता नेपालसहित १४ सांसदलाई गरेको कारवाहीले झन बल पुगेको छ । नेपाल समूहले यसलाई विभाजनमा अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको बताएका छन् । पार्टीको केन्द्रीय समितिमा २० प्रतिशत ल्याएपनि पार्टी विभाजन गर्न सकिने अध्यादेशमा व्यवस्था गरेका कारण यो कारवाहीले फरक नपार्ने नेपाल समूहका नेताहरुले बताएका छन् ।
सुरुदेखि नै नेपाल समूहतिर लागेका केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले नयाँ पार्टी दल दर्ताको लागि सबै कागजात तयार भइसकेको बताए । तर, एक पटक पार्टी एकताको लागि अन्तिम प्रयास गर्ने बताए । त्यो नभएर अध्यादेश जारी हुनेबित्तिकै आयोग जाने जानकारी दिए ।
नयाँ पार्टी दर्ताको लागि ६० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर भइसकेको नेपाल समूहले बताएको छ । एमालेको यसअघिको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट ६० जना नेपाल समूहतिर लाग्ने पक्का भएको समेत बताइएको छ । वेदुराम भुसालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि आवश्यक पर्ने कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायत) तयार भइरहेको छ ।
सबैको चाँसोको विषय भनेको नेपाल समूहले नयाँ पार्टीको नाम के हो भन्नेमा छ । एक नेताका अनुसार नयाँ पार्टीको नाम नेकपा एमाले (क्रान्तिकारी) प्रस्ताव गरिएको छ । त्यस्तै, यसअघि निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत), नेकपा एमाले (समाजवादी) नामबारे नेताहरुबीच छलफल भइरहेको छ । नेकपा एमाले (क्रान्तिकारी) राख्दा राम्रो हुने मत धेरैको भएको एक नेताले बताए ।
अध्यादेश जारी भए नेता नेपाललाई नयाँ पार्टी गठनको लागि ४१ जना केन्द्रीय समिति सदस्य भए पुग्छ ।