
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आजै नयाँ पार्टी दर्ता गर्ने बताएका छन् । सरकारले अध्यादेश ल्याएलगत्तै नेता नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई फोन गरेर नयाँ पार्टी आजै दर्ता गर्नुपर्ने हुन सक्ने भन्दै तयारीमा बस्न भनेका छन् ।
एक केन्द्रीय सदस्यका अनुसार नयाँ पार्टी दर्ताको तयारी भइरहेको छ । त्यसको लागि नेपाल समूहका नेताहरु बानेश्वरमा जम्मा भएका छन् भने केही नेताहरु कानुन व्यवसायीसँग छलफल गरिरहेका छन् ।
अध्यादेशसँग एमाले विभाजन हुने निश्चित जस्तै भएको छ । एक नेताका अनुसार नेपाल समूहले अहिले हस्ताक्षर गरिररहेको छ । नेपाल समूहका २५ जना सांसद पुगेको बताइएको छ । उपाध्यक्ष बामदेव गौतम पत्नी पनि नेपाल समूहतिर लागेकी छन् । तर, केही समयअघि उनी एमालेमै फर्किएको बताइएको छ ।
नेपाल पक्षमा लागेका एमाले सांसदलाई कारवाही गर्ने तयारी पनि भइरहेको छ । त्यसको लागि एमाले संसदीय दलको बैठक बस्ने तयारी भइरहेको छ । अध्यक्ष ओलीले २२ सांसदलाई कारवाही गरि सांसद पदबाट मुक्त गर्न संसद सचिवालयमा सूचना दिने सम्भावना पनि छ । तर सभामुखले तत्काल कारवाही अघि नबढाउने अनुमान पनि गरिएको छ ।
त्यसैगरी राष्ट्रपतिले पनि अध्यादेश तत्कालै जारी नगर्ने बताइएको छ । एमालेले कारवाहीको लागि संसद सचिवालयमा दर्ता गराएपछि मात्रै राष्ट्रपतिले अध्यादेश जारी गर्ने सम्भावना रहेको छ ।