आज :

एमाले विभाजन गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै ओलीले गरे यस्तो अपील (विज्ञप्तिसहित)

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गर्न सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै त्यो मान्य नहुने बताएका छन् । ओलीले विज्ञप्ति निकालेर सरकारले एमालेलाई विभाजित गर्ने षडयन्त्र गरिरहेको बताउँदै अध्यादेश ल्याए आन्दोलन गर्ने चेतावनी समेत दिए ।

सरकारले अध्यादेश ल्याउन सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेको भन्दै ओलीले विज्ञप्तिमा भनेका छन्, “केही समययता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ ।

नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य नहुने भन्दै ओलीले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन अपील समेत गरेका छन् ।
ओलीले जारी गरेको विज्ञप्ति यस्तो छः

१. सुल्झिएको विचार, सुदृढ सङ्गठन र फराकिलो जनाधार सहितको एकताबद्ध नेकपा (एमाले)को नेतृत्वमा मात्रै संविधानको रक्षा र कार्यान्वयन गर्न सकिन्छ, लोकतन्त्रलाई सुदृढ गर्न, राष्ट्रियताको रक्षा गर्न र मुलुकलाई सुशासन तथा समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ भन्ने निष्कर्षका साथ पार्टी एकताको रक्षाका लागि हामीले गरेको अनवरत प्रयासका बारेमा कमरेडहरू अवगत नै हुनुहुन्छ । २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि पनि नेपाल कम्युनिस्ट पार्टीलाई एकताबद्ध राख्न हामीले हर सम्भव कोसिस गरेका थियौँ । त्यो सम्भव नभएपछि नेकपा (एमाले) लाई नेकपाको विरासत सहितको एकीकृत पार्टीका रूपमा विकास गर्न केन्द्रित रह्यौँ । यस क्रममा पार्टीभित्र उत्पन्न समस्याको समाधानका लागि कार्यदल गठन गरिएको र कार्यदलले निकै लामो प्रयासपछि गत असार २७ गते १० बुँदे प्रस्ताव प्रस्तुत गरेको तथ्य पनि सबैलाई जानकारी नै छ ।

२. कार्यदलका तर्फबाट असार २८ गते उक्त प्रस्ताव प्राप्त भइसकेपछि मैले सोही दिन त्यसलाई ग्रहण गरेको थिएँ । त्यसै अनुरूप २०७८ साउन १ गते सम्पन्न पार्टी स्थायी कमिटीको बैठक र साउन ४–७ मा सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधानका लागि महत्त्वपूर्ण आधारका रूपमा रहेको उक्त प्रस्तावलाई ग्रहण र अनुमोदन गर्दै कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

सयौँ सहिदहरूको बलिदान, हजारौँ नेता तथा कार्यकर्ताको कष्टसाध्य संघर्ष, लाखौं सदस्यको मेहनत तथा जनसंख्याको अत्यधिक ठूलो हिस्साको समर्थनमा निर्माण र विकसित भएको यो पार्टी आफैंमा सामाजिक, न्याय र विकासको पर्याय बनेको छ । पार्टीभित्र लोकतान्त्रिक र न्यायपूर्ण प्रणाली आत्मसात गरेर मात्र सामाजिक न्याय र अग्रगतिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुप्रति विभेद र पूर्वाग्रहमा होइन, कमरेडली समभावमा विश्वास गर्दछु । सबैलाई सम्मानका साथ पार्टी कामका जुट्ने अनुकूल परिस्थिति निर्माण हुनु पर्दछ भन्ने मान्दछु । तसर्थ, पार्टीलाई अनुशासित, एकताबद्ध एवम् गतिशील तुल्याउन र राष्ट्रिय राजनीतिमा यस पार्टीको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूलाई हार्दिक आह्वान गर्दछु । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत आफू सम्बद्ध कमिटीका बैठकमा सरिक हुन र आ–आफ्नो तहबाट पार्टी निर्माणमा योगदान गर्न अपिल गर्दछु ।

३. केही समययता नेकपा (एमाले) र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भइरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले)लाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ । नेकपा (एमाले) र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।

४. हाम्रा सामु पार्टीको विधान, मुलुकको संविधान र कानुनी व्यवस्था बमोजिम विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने जिम्मेवारी छ । यस बीचमा विधान संशोधनका लागि पार्टीका सबै तहका कमिटी र सदस्यहरूलाई सुझाव पठाउन निर्देशन गरिएको छ । मैले विधान संशोधनका सम्बन्धमा सबै तहका कमिटी र पार्टी सदस्यहरु माझ जीवन्त र रचनात्मक ढंगले छलफल हुने अपेक्षा गरेको छु । जनताको बहुदलीय जनवादको सिद्धान्त र पार्टी जीवनको लोकतान्त्रिकरणको मर्म अनुरूप विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने छ । विधान संशोधनको प्रक्रियामा आ–आफ्नो ठाउँबाट योगदान गर्न सम्पूर्ण कमरेडहरुलाई हार्दिक आग्रह गर्दछु ।

५. क्रान्तिकारी र अग्रगामी सारतत्वका साथ राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको हाम्रो पार्टीको भूमिका यतिबेला सत्ता पक्षबाट प्रतिपक्षमा परिवर्तित भएको छ । यस धक्काबाट उठेर पार्टीलाई पुनः राष्ट्रिय राजनीतिको नेतृत्वदायी शक्तिमा स्थापित गर्न सम्पूर्ण कमरेडहरुलाई अनुशासित र सक्रिय भूमिका निर्वाह गर्नुहुन अपिल गर्दछु ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal