
काठमाडौँ । तालिवान २० वर्षपछि फेरि सत्तामा आएको छ । सन् २००१ सेक्टेबर ११ को घटनापछि अमेरिकी नेतृत्वको सेनाले हमलाका कारण सत्ताच्युत भएको तालिवानीहरुले आइतबार राति अफगानिस्तान पूर्णरुपमा कब्जामा लिए ।
तीब्र गतिमा देशका धेरै भूभाग नियन्त्रणमा लिएको तालिवानीहरु आइतबार विहान राजधानी काबुल छिरेका थिए । शान्तिपूर्ण सत्ता हस्तान्त्रणको लागि केही समय दिएर काबुल गेटमा रोकिएका थिए तालिवानी समूहका लडाकुहरु । तर, अमेरिकी कटपुतली राष्ट्रपति अशरफ गनीले औपचारिक रुपमा सत्ता हस्तान्त्रण गर्न तयार नभएपछि तालिवानीहरु काबुल छिरेका थिए ।
सरकारको तर्फबाट तालिबानसँग वार्ताका लागि जिम्मेवार निकायका प्रमुख डा. अब्दुल्लाह अब्दुल्लाहले गनीले देश छाडेको पुष्टि गरेका छन् । उनले गनीलाई पूर्व राष्ट्रपति भएको बताए । देश छोड्नु गैरजिम्मेवारीपन भएको बताए । उनको मूल्यांकन राष्ट्रले गर्ने समेत बताए । अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ ।
तालिवानीहरु राजधानी काबुल छिरेसँगै स्थानीयहरु खुशी भएका थिए र ठाउँठाउँमा झण्डा फराएर स्वागत गरेका थिए । सरकारी सुरक्षाकर्मीहरुले तालिवाविरुद्ध लड्न छोडिदिए ।
सरकारी सुरक्षकर्मीहरुले प्रतिकार नगरेपछि काबुल छिरेको केही समयमै तालिवानीहरुले सम्पूर्ण क्षेत्र नियन्त्रणमा लिएको घोषणा गरे । राष्ट्रिपति कार्यालय कब्जामा लिएपछि तालिबानका प्रवक्ताले अल जजिरासँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताए । उनले देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्र भएको बताए । उनले अब फेरि विदेशी शक्तिहरूले अफगानिस्तानमा तिनको विगतको विफल अनुभव नदोहो¥याउने आफूहरूले ठानेको बताए ।
तालिवानले काबुल नियन्त्रणमा लिनुभन्दा पहिलै राष्ट्रपति गनीले देश छोडेर भागिसकेका थिए । तालिवानीहरु काबुल गेटमा पुग्दा आफ्नो कार्यालयमै रहेका गनी राष्ट्रपति हतार हतार उज्बेकिस्तानतर्फ लागेका थिए । गनीले तालिवानले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको भएको बताए ।
अमेरिकी छत्रछायाँको सरकारको अन्त्य भएको छ । अमेरिकालगायतका पश्चिमा देशका ठेकेदारहरु काबुलबाट भागिरहेका छन् ।
आफ्नो नागरिक लैजान अमेरिकाले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ६ हजार सेना खटाएको छ । अमेरिकी दुतावास पनि विमानस्थलमै सारिएको छ ।
अमेरिकासहित पश्चिमा देशहरूले हतारहतार आफ्ना नागरिक तथा अन्यको काबुलबाट उद्धार गरिरहेको बताइएको छ । तालिबानले राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएको विवरणहरू सार्वजनिक भएका छन्।