
काठमाडौं । तालिवानीहरु अफगानिस्तानको सत्तामा फेरि आउने पक्का भएको छ । राजधानी काबुल नियन्त्रणमा लिन तयारी गर्दैगर्दा सरकारले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्त्रण गर्ने बताएको छ । यसअघि अन्तिसम्म पनि सत्ता नछोड्ने भन्दै अन्तर्राष्ट्रिय शक्तिहरुसँग गुहार गरेका राष्ट्रपति असर्फ घानीले आपतकालीन बैठक बोलाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार घानीले अहिले अमेरिकी विशेष दूत जाल्मे खलिलजाद र शीर्ष नेटोका अधिकारीसँग वार्ता गरिरहेका छन् । तालिबानले मुलुकका अधिकांश क्षेत्रलाई कब्जा लिएर राजाधानी काबुल छिरेसँगै राष्ट्रपति घानी भने गम्भीर छलफलमा जुटेका छन् ।
यसैबीच तालिबानले भने आफ्ना लडाकुहरुलाई काबुल नछिर्न निर्देशन दिइएको दाबी गरेको छ । तालिबानले एक वक्तव्य जारी गर्दै आफ्ना लडाकुलाई काबुलको गेटमा नै बस्न निर्देशन दिएको समाचार एजेन्सीहरुले बताएका छन् । काबुल घना बस्ती भएको क्षेत्र भएकाले आम नागरिकको सुरक्षालाई ध्यानमा राख्दै लडाकुहरुलाई बाहिरै बस्न निर्देशन दिइएको तालिबानको दाबी छ ।
तालिबानले अहिले सत्ता शान्तिपूर्णरुपमा हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यद्यपि काबुलको धेरै क्षेत्रमा तालिबानको झण्डा देखिएको र तालिबानका लडाकुहरु पनि सडकमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । केही क्षेत्रमा गोली चलेको आवाज सुनिएको पनि समाचारमा उल्लेख छ ।
यसैबीच अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले यस्तो बताएका हुन् ।
अफगानी जनताले चिन्ता लिनुपर्दैन, शहरमा कुनै आक्रमण हुने छैन र संक्रमणकालीन सरकारलाई शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुने मिर्जाक्जवालले भने ।
तालिबानले राजधानी शहर काबुललाई चारैतिरबाट घेरेको तर आफूहरुले यु द्ध नचाहेको बताएको छ । अहिले तालिबान र सरकारी अधिकारीहरुबीच वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।