
काठमाडौं । नेपाली कांग्रेसले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म १४ औ महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टीका शिर्ष नेताहरुले चुनावपछि महाधिवेशन गर्ने तयारी गरेपनि धेरै केन्द्रीय समिति सदस्यले विरोध जनाएका थिए । उनीहरुले तत्काल महाधिवेशन घोषणा नगरिए आफूहरुले सामुहिक राजिनामा दिने चेतावनी दिएका थिए ।
यसअघि काँग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । फेरि पनि तीन महिना पर सार्दै नयाँ मिति तोकिएको छ ।
महाधिवेशनको नयाँ कार्यतालिका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।
त्यसैगरी भदौ १८ गते वडा अधिवेशन, भदौ २७ गतेसम्म गाउँ तथा नगर अधिवेश, असोज १ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, असोज ५ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन, असोज १० गते जिल्ला र असोज १२ गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय काँग्रेसले गरेको छ । र, मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको काँग्रेस नेताहरुले बताएका छन् ।