
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक शनिबारबाट सुरु भएको छ । काठमाडौँको बत्तीसपुतलीमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेस गरेका छन् ।
प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने प्रस्ताव पेश गरेका छन् । त्यो भन्दा स्थानीय र प्रदेश स्तरका अधिवेशनहरू सकिसक्ने प्रचण्डले प्रस्ताव गरेको एक सहभागीले बताएका छन् ।
यही भदौ मसान्तभित्र देशैभरीका पार्टी सदस्यता वितरण ए नविकरणको काम सक्ने, असोज टोलदेखि वडा हुँदै गाउँ सम्मेलनहरु सक्ने र कात्तिकमा जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।
प्रचण्डले ७७ वटै जिल्ला सम्मेलन एकै दिन गर्ने प्रस्ताव समेत गरेका छन् । प्रचण्डले मङ्सिर १५ मा सातवटै प्रदेशको अधिवेशन सम्पन्न गरेपछि माओ दिवसको दिन पारेर पुस ११ गते राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।
बैठकमा प्रचण्डले पेश गरेका राजनीतिक तथा संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको सेलदेखि राष्ट्रिय सम्मेलनसम्मको कार्यसूची यस्तो छ– भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन, मंङ्सिर १५ गते प्रदेश सम्मेलन र पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन ।