
हुम्ला । योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) ले हुम्लामा शक्ति प्रदर्शन गरेको छ । नेकपा (माओवादी केन्द्र) को साहयक संगठन वाइसिएलले जिल्लाको ताँजाकोट गाउँपालिकामा शक्ति प्रदर्शन गरेको हो ।
जनयुद्धको झल्को आउने गरी वाइसिएलले ताँजाकोट गाउँपालिका स्तरिय कमिटीको भेलाको क्रममा शक्ति प्रदर्शन गको हो । ताजाकोटको छप्रेलामा भएकाे भेलाले गणेश मल्लको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका स्तरिय कमिटी गठन गरेको छ ।
माओवादी केन्द्रका ताँजाकोट गाउँपालिका इन्चार्ज रणसिंह परियारले पार्टीका जनवर्गीय संगठनहरुको गाउँस्तरीय भेला तथा संगठन विस्तार संचालन गरेको जानकारी दिए । उनले गाउँपालिकाका सबै वडामा भेला तथा सम्मेलन सम्पन्न भएकाे बताए ।
माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लका अनुसार वाइसिएलको भेला विहीबार सम्पन्न भएको र आज प्रशिक्षण कार्यक्रम राखिएको थियो । त्यस्तै, पालिकाभरी विभिन्न जनवर्गीय संगठनहरुको भेला तथा प्रशिक्षण पनि सम्पन्न भएको मल्लले जानकार दिए ।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका हुम्ला जिल्ला अध्यक्ष लालकेश जैसीले पार्टीका पछिल्ला कार्यक्रम र समासामुहिक राजनीतिक विषयमा प्रशिक्षण दिएका थिए । उनले हुम्ला जिल्ला लालकिल्ला बनाउने भन्दै त्यहीअनुसार अगाडि बढ्न निर्देशन दिए ।
त्यस्तै, प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका ताँजाकोट गाउँपालिका अध्यक्ष गोपाल बुढा, पालिका अध्यक्ष बाग्दल मल्ललगायतका नेताहरुले प्रशिक्ष दिएका थिए । उनीहरुले संसद विघटन गर्ने कदम परास्त भएपनि प्रतिगामी तत्वले टाउको उठाउन सक्ने भन्दै वाईसिएलले सतर्क तयारी अवस्था रहन निर्देशन समेत दिए ।
कार्यक्रममा नेकपा एमाले परित्याग गरी दुई दर्जन नेताहरु माओवादी केन्द्रमा प्रदेश गरेका छन् । एमालेका शिक्षक संगठनका केन्द्रीय सदस्य धनसिंह बोहरसहित दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रम प्रवेश गरेका छन् ।
भेलाको समापनको क्रममा गरिएको शक्ति प्रदर्शन तथा सांस्कृतिक कार्यक्रममा करिब तीन हजारको सहभागिता रहेको थियो भने पाँच सय युवाले परेड गरेका थिए ।