
काठमाडौँ । नेकपा (एमाले) को माधव नेपाल समूहको केन्द्रीय समिति बैठक सकिएकाे छ । बैठकको दोस्रो दिन आज थप ३५ जना केन्द्रीय सदस्यहरुले धारणा राखेसँगै बोल्नेक्रम सकिएको थियाे ।
विहीबारदेखि काठमाडौँको बुद्धनगरमा सुरु भएको बैठकमा पहिलो दिन २३ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका थिए । आज अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरी आएका नेता प्रेम आले लगायतले बोलेका थिए । आजकाे बैठकमा ३५ जनाले धारणा राखेकाे नेता रघुजी पन्तले जानकारी दिए ।
अहिले बैठक स्थगित गरिएको छ, केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएसँगै बैठक स्थगित भएको हो । केन्द्रीय सदस्यहरुको धारणा र प्रश्नको जवाफ नेता नेपालले दिने तयारी छ । त्यसको लागि अहिले स्थायी समिति सदस्यहरुको बसाई चलिरहेको छ । स्थायी समितिमा एक रुपता गरेर नेताहरुले जवाफ दिने तयारी भइरहेको छ ।
बैठकमा सहभागी नेताहरुका अनुसार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले अहिलेकै अवस्थामा पार्टी एक हुन सम्भव नभएको र अध्यक्ष ओलीले माफी वा आत्मालोचना गरेर एकता गर्नुपर्ने बताएका थिए ।
त्यसैगरी केही नेताहरुले आफूहरुले देउवा नेतृत्वको सरकार बनाएको भन्दै सहभागी हुनु पर्ने धारणा राखेपनि अधिकांशले सरकारमा जाँदा पार्टी एकताको सम्भवना अन्त्य हुने भन्दै तत्काल जान नहुने धारणा रारखेका थिए ।
विहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन ७० जनाले माइन्यूटमा हस्ताक्षर गरेका थिए । सुरेन्द्र पाण्डे, योगेश भट्टराईसहित नेपाल समूहका केही नेताहरु पहिलो बैठकमा सहभागी भएका थिएनन् । सहभागी एक नेताका अनुसार दोस्रो दिन अर्थात आजको बैठकमा नेता पाण्डे सहभागी भएका छन् भने कोरोनाको कन्ट्रयाक ट्रेसिङका कारण भट्टराई आज पनि अनुपस्थित नै रहे ।
आजको बैठकमा पाण्डेसहित ७ जना केन्द्रीय सदस्य उपस्थित भएका छन् । योसँगै नेपाल समूहको बैठकमा ७७ जना सहभागी रहेका छन् ।