
काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । विहीबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ ।
नेता रघुजी पन्तका अनुसार विहीबार केन्द्रीय सदस्यहरु विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतले आफ्ना धारणा राखेका छन् ।
एक नेताका अनुसार बोल्ने अधिकांश नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली नसच्चिने भन्दै उनको दादागिरी सहेर बस्नु नहुने धारणा राखेका थिए । बैठकमा धारणा राख्दै नेताहरुले पार्टीमा विवाद आउनुको मुख्य कारकतत्व ओली भएको समेत बताए ।
नेतृ रामकुमारी झाँक्रीले ओली कम्युनिस्ट आन्दोलन र विचारविरोधी भएको भन्दै झुकेर जानुभन्दा अलग पार्टी बनाएर अगाडि बढ्न उपयुक्त हुने धारणा राखेको एक नेताले बताए ।
नेता पन्तका अनुसार बैठकमा नेता माधव कुमार नेपालले एकता र वार्ताको प्रक्रिया अघि बढिरहेको भन्दै केही विषयमा सहमति भएको र केहीमा अझै वार्ता भइरहेको जानकारी दिए । नेता नेपालले एकता सम्मानजनक हैसियतमा मात्रै हुनसक्ने धारणा राखेका थिए ।
कोरोना नियन्त्रण प्रभावकारी बनाउन, बाढी पहिरोबाट पीडित भएकाहरुलाई राहत र क्षतिपुर्ति दिन तथा महाकाली घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन नेता नेपालले सरकारलाई सुझाव समेत दिए ।
अध्यक्ष ओलीसँग नजिक भएको भनिएका नेता भीम रावल पनि बैठकमा सहभागी भएका छन् । उनले कार्यदलले तयार गरेको १० बुँदे एकता प्रस्तावबारे ब्रिफिङ समेत गरेका थिए ।
बैठकमा नेता नेपालका विश्वास पात्र मानिएका सुरेन्द्र पाण्डे र योगेश भट्टराई सहभागी भएका छैनन् । एक नेताका अनुसार पहिलो दिनमा ७३ जना केन्द्रीय सदस्य सहभागी भएको र दोस्रो दिन थप हुने बताए ।
अध्यक्ष केपी शर्मा ओली समूहले नेपाल समूहको बैठकलाई अनाधिकृत भएको भन्दै पार्टीको कुनै बैठक नभएको बताएको थियो । तर, नेपाल समूहका बैठक उत्साहजनक भएको एक नेताले बताए ।