
काठमाडौं । आजबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान आजदेखि सुरु हुँदैछ । स्वस्थ्य सेवा विभागका अनुसार असार २९ गतेदेखिभेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने छन् ।
खोपको लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले केन्द्र तोकेका छन् । पहिलो डोज लगाएको कार्डसहित केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ । त्यस्तै, यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि आग्रह गरिएको छ ।
सरकारले २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ । मन्त्रालयका अनुसार दुवै देशबाट भोलि र पर्सिसम्म खोप आइसक्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार नौ सय जनाले पूर्ण खोप लगाएका छन् । मनाङ र मुस्ताङ पूर्ण खोप जिल्ला घोषित भइसकेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले खोप चाँडोभन्दा चाँडो ल्याउन पहल गर्न स्वास्थ्य मन्त्रालयलाई भनिसकेका छन् । उनले खोपको लागि आवश्यक बजेटको कुनै पनि कमी नहुने समेत सार्वजनिक रुपमै बताइसकेका छन् ।