
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (ओली) ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई बन्धक बनाइएको बताएकी छन् । विहीबार ओलीले पत्रकार सम्मेलन गरेर आफूलाई तीन दिन बन्धक बनाइएको आरोप लगाइन ।
तत्कालिन (नेकपा)बाट दाङबाट प्रदेशसभामा निर्वाचित ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रतिर लागेकी थिइन् । तर, केही अगाडि माओवादी केन्द्रको सम्पर्क बाहिर गएकी विमलाले सो कुरा बताएकी हुन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विमला ओलीले आफू मुख्यमन्त्री पोखरेलको निवासबाट आफू भागेको समेत बताइएको छ ।
सांसद ओलीले आफू उपचारका लागि नेपालगञ्ज जान लागेको समयमा नेकपा (एमाले) का लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफूलाई गाडीमा बुटवल पुर्याएको उनले बताइन् ।
बन्धक बनाएर एमाले नेताहरुले आफूलाई नेकपा (एमाले) मा आउन निरन्तर दबाब र प्रलोभन दिइएको उनले बताइन्। साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दवाव दिइरहियो, मैले इन्कारी जारी राखिरहें’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिई जबरजस्ती हस्ताक्षर गराइयो, यति मात्र नभई अर्को दुई तीनवटा माइनुट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइयो। यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको थिएँ, तर अझ कडाइका साथ साउन १९ गते देखि मुख्यमन्त्री निवास भित्रै राखियो।
सांसद ओलीले २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएपछि आफू मुख्यमन्त्री कार्यालयबाट भागेको बताइन् । “पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगें, जहाँ मेरो आफनै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें त्यसबेला म मानसिक रुपमा निकै थकित भएकोले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ” पत्रकार सम्मेलनमा उनले भनिन् ।
राजनीति र सरकारको खेलमा यस्तो घटना आफूले पहिलो पटक व्यहोरेको उनले बताएकी छिन्। उनले आफू माओवादी केन्द्रप्रति पूर्णप्रतिबद्ध रहेको बताइन्।
आफ्ना नामबाट नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लुम्बिनी प्रदेश दलले फैलाएको भ्रमहरु र जबरजस्ती गरिएको कागज र हस्ताक्षर झुठो भएको उनको भनाइ छ।