
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठकको लागि काठमाडौँ बाहिर रहेका सबै केन्द्रीय सदस्यहरु बुधबार नै काठमाडौँ पुगिसकेका थिए ।
दोस्रो पटक संसद पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि भौतिक रुपमा पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि भर्चुअल माध्यमबाट बस्दै आएको बैठक आज भौतिक रुपमा बसेर महत्वपूर्ण निर्णय गर्ने नेताहरुले बताएका छन् ।
काठमाडौँ बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा अहिले विहान ११ बजेबाट सुरु हुने बैठकमा नेता नेपालसहितका नेताहरुले पार्टी एकताको लागि भएका प्रयास, कार्यदलले तयार गरेको १० बुँदे सहमति, अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई सार्वजनिक रुपमा दिएको अभिव्यक्तिलगायतका विषयमा ब्रिफिङ गर्ने बताइएको छ ।
त्यसैगरी एमालेमा ओलीकै नेतृत्वमा रहने वा अर्को पार्टी बनाएर जाने भन्ने विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ । त्यस्तै, सरकारमा सहभागीताबारे पनि निर्णय हुनेछ ।
वर्तमान सरकार बनाउन आफ्नो समूहको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै पार्टीभित्रैबाट सरकारमा सहभागी हुन दवाव बढिरहेको बेला हुने बैठकमा यसबारे पनि गम्भीर हुने नेताहरुले बताएका छन् ।
नेपाल समूहको आजको बैठक नेकपा एमालेको जीवनमा महत्वपूर्ण हुनेछ । आजकै बैठकले पार्टी एकता वा अलग भएर अगाडि बढ्नेबारे पनि निर्णय गर्नेछ ।
यसैबीच एमालेको संस्थापन समूहले नेता नेपालले बोलाएको केन्द्रीय समिति बैठकप्रति आपत्ति जनाएको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले वक्तव्य जारी गरी आजको बैठक अनधिकृत भएको जनाएका छन् ।