
काठमाडौं । नेपालमा फेरि कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । काठमाडौँ उपत्यकासहित देशभर निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ११३२ जना गरी उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५ हजार ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबारसम्म आउँदा देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना रहेको छ । जसमध्ये ३० हजार २७० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै, ७१४ जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
त्यसैगरी बुधबार थप ३५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ९ हजार ९५७ जनाको ज्यान गइसकेको छ । यस्तै बुधबार थप १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्तको संख्या ६ लाख ६१ हजार ६५१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा काठमाडौँ उपत्यकामा संक्रमित बढ्दै गएका छन् । सबैभन्दा धेरै काठमाडौंमा ९०८, ललितपुरमा २०६ र भक्तपुरमा १६५ जनामा कोरोना संक्रमण भएको छ ।
त्यसैगरी झापामा २९६, कास्कीमा २२६, मोरङमा १३२, मकवानपुरमा १०२, सुनसरीमा ९९, चिनवमा ९२, रुपन्देहीमा ६१, नवलपारसी पूर्वमा ५८, तनहुँमा ५५, नुवाकोटमा ५३ र गोरखामा ४९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।