
काठमाडौं । सत्ता गठबन्धनको बैठक बैठक बसिरहेको छ । गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठकले मन्त्रिमण्डल विस्तारबारे छलफल गरिरहेको छ । मन्त्रिमण्डल विस्तारसँगै सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल भइरहेको बताइएको छ ।
नेकपा एमालेका नेता माधव कुमार नेपाल समूहसहित बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको थियो ।
स्रोतका अनुसार बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् ।
त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी छन् भने नेपाल समूहबाट डा. विजय पौडेल सहभागी भएको बताइएको छ ।
सरकारमा सहभागी हुनेबारे औपचारिक रुपमा नेपाल समूहले निर्णय गरेको छैन । कार्यदलमा रहेका नेपाल समूहका नेताहरुले एमाले एकतामा जोड दिइरहेका कारण औपचारिक रुपमा नेपालले औपचारिक निर्णय गर्न सकेका छैनन् ।
नेता नेपालले ओलीसँग सम्मानजनक एकता सम्भव नभएको भन्दै सरकारमा सहभागी हुनेमा जोड दिइरहेका छन् । आवश्यक परे पार्टी नै अलग भएर पनि सरकारमा सहभागी हुने नेपाल समूहकै नेताहरुले बताइरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूह अहिले नै सरकारमा सहभागी हुने अवस्था सिर्जना नभएपनि केही मन्त्रालयल बाँकी राखेर मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।
सत्ता गठबन्धनमा सहयोग गरेको जसपाको उपेन्द्र यादव समूहका कारण मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन । निर्वाचन आयोगले यादवलाई जसपाका आधिकारिकता दिएसँगै मन्त्रिमण्डल विस्तारलाई प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल थालेका हुन् ।