
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले आधिकारिकता पाएको छ । निर्वाचन आयोगले सोमबार गरेको हेड काउन्ट पछि उपेन्द्र समूहको पक्षमा बहुमत भएकोले आधिकरिता दिएको हो ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए ।
जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ र रेशम चौधरी भने तटस्थ बसेको छ ।
ठाकुर समूहले अब अर्को पार्टी बनाउनु पर्ने भएको छ । पार्टीको नामबारे ठाकुरले आन्तरिक छलफल थालेका छन् ।
यसैबीच अध्यक्ष यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् । सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छिट्टै देउवा सरकारमा पार्टी सहभागी हुने बताए ।
प्रधानमन्त्री देउवाले पनि उपेन्द्र समूहलाई कुरेर मन्त्रिमण्डल विस्तार गरेका छैनन् । त्यसैगरी अल्पमतमा परेको ठाकुर समूहले पनि सरकारमा सहभागी हुने लोभ देखाएको छ । प्रधानमन्त्री देउवाले पनि ठाकुरलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । तर, उपेन्द्र समूले ठाकुरलाई सरकारमा सहभागी नगराउने बताउँदै आएको छ ।