
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच भेटवार्ता भएको छ । विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बहिर्गमित जनमुक्ति सेनाले उठाउँदै आएका विषयहरु प्रधानमन्त्री देउवालाई जानकारी गराइएको थियो ।
बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिका अध्यक्ष रमेश बसेल ‘करन’ ले प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएको भन्दै आफ्ना मागहरु पूरा हुनेमा आशावादी भएको बताए ।
त्यसैगरी बहिर्गमित जनमुक्ती सेना नेपालका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा ‘सुवास’ ले प्रधानमन्त्रीसँगको भेटमा आफूहरुले बिगत लामो समयदेखि उठाउँदै आएको मागबारे र अघिल्लो सरकारले निर्णय गरेको निर्णय ‘लोकतान्त्रिक योद्धा’ अभिलेखिकरण सम्मान समिति निर्माण गरी सम्मानलाई निरन्तरता दिने विषयमा आफूहरुले कुरा राखेको जानकार दिए ।
प्रधानमन्त्री देउवासँगको भेट छलफल सकारात्मक भएको भन्दै सुवासले आफ्ना मागहरु पूरा गर्ने प्रतिवद्धता जनाएको बताए ।
“भेटघाटमा हामीहरुले विगतबाट उठाउँदै आएका माग मुद्धाबारे जानकारी गराउँदै अघिल्लो सरकारले सुरु गरेको ‘लोकतन्त्रका योद्धा’ अधिलेखिकरण सम्मान समितिलाई निरन्तरता दिनेलगायतका विषयमा छलफल भयो । प्रधानमन्त्रीले हाम्रा मागहरु पूरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ” थापाले भने ।
सरकार परिवर्तनसँगै बहिर्गमति जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले भेटघाटलाई तीब्र पारेको छ ।