
काठमाडौं । सत्ता तथा कुर्सीको लागि हरिहत्ते गर्दै आएको भन्ने आरोप लाग्दै आएको जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूह फेरि सरकारमा जान तयारीमा रहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको केही दिनमै सर्वोच्च अदालतले बर्खास्त गरेपनि मन्त्री क्वाटर नछोडेका ठाकुर महतो समूहका नेताहरु फेरि सरकारमा जाने तयारीमा लागेका हुन् ।
पार्टी विभाजनलाई बाजी राखेर ठाकुर–महतो सरकारमा रहँदासम्म ओलीको वरिपरी घुमिरहेका थिए । तर, ओली सरकारबाट हटेलगत्तै फेरि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन पुगेको थियो ।
जसपाकै उपेन्द्र यादव समूहले सुरुदेखि नै विपक्षी गठबन्धनमा थिए भने ठाकुर समूहले ओलीको कदमलाई साथ दिँदै आएको थियो । प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल विस्तारको छलफल गरेसँगै ठाकुर समूहले आफूहरु पनि सरकारमा जान तयार रहेको सन्देश पठाएको बताइएको छ ।
प्रधानमन्त्री देउवासँग अध्यक्ष ठाकुरले बुधबार भेट गरेका छन् । भेटमा आफूहरु पनि सरकारमा जान तयार रहेको बताउँदै ठाकुरले केही समय मागेको स्रोतले बतायो । तर, जसपा नेता शरदसिंह भण्डारीले भने प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरेको बताए । भेटको क्रममा ठाकुरले ओली सरकारले गरेको मुद्धा फिर्ता र बन्दी रिहा लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।
जसपाले सरकारसँग मधेस आन्दोलनका क्रममा लगाइएको झुटो मुद्दा फिर्ता गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, नागरिकता विधेयक पास गर्ने तथा निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग राख्दै आएपनि ओली सरकारमा सहभागी भइको थियो ।