
काठमाडौँ । नेता अमरेश कुमार सिंहले राजिनामा दिएसँगै नेपाली काँग्रेसमा हलचल मच्चिएको छ । सिंहले बुधबार प्रतिनिधिसभा सदस्य सांसद पदबाट राजीनामा दिएका थिए ।
नेता रामचन्द्र पौडेल समूहका नेता सिंहले महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै राजिनामा दिएका हुन् । उनले आफ्नो राजिनामा पत्र पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पेश गरेका छन् ।
राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं। २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् । निधिको रवैयाकै कारण प्रदेशमा काँग्रेस पार्टीको स्थिति रक्षात्मक अवस्थामा पुग्ने खतरा बढाएको र यस्तो स्थितिमा पार्टीको एक जिम्मेवार सदस्यका रूपमा आफूले विशेष निर्णय लिनुपर्ने भएको उनको जिकिर छ ।
“मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनर्स्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु” पार्टी सभापति एवम् प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उल्लेख छ ।