
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफलसिद्ध भइसकेको संसदीय व्यवस्थाको विकल्पमा जाने हो भने कम्युनिस्टहरुबीच एकताको नयाँ आधार बन्ने बताएका छन् ।
पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कृष्णबहादुर महरासँग विप्लवसहित सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र सन्तोषबुढामगरबीच भएको भेटवार्तामा उनले सो प्रस्ताव गरेका हुन् ।
महरा निवासमा मंगलबार भएको छलफलमा नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटमा परेको र कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन नयाँ आधारमा एकता अहिलेको आवश्यकता भएको तर त्यसका लागि संसदीय व्यवस्थाको विकल्पमा जान तयार हुनुपर्ने विप्लवले धारणाा राखेका थिए ।
जवाफमा महराले अहिलेकै सुधारिएको संसदीय व्यवस्थाको अझै भरपूर प्रयोग गर्न नसकेकाले यसलाई अधिकतम प्रयोग गर्न एक ठाउँमा रहन आग्रह गरेका थिए । छलफलमा सहभागी नेकपाका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले नयाँ कम्युनिस्ट पार्टी निर्माणका लागि बैठकमा महत्वपूर्ण छलफल भएको बताए ।
‘बैज्ञानिक समाजवादका लागि सँगै आन्दोलन गर्ने एजेण्डामा तपाईँहरु सहमत हुनुस् नयाँ आधारमा नयाँ एकता सम्भव छ,’ बैठकमा सुदर्शनले भनेका थिए । बैठकमा महराले ‘छलफललाई जारी रार्खौं, यो संसदीय व्यवस्थालाई अझ उन्नत स्तरले प्रयोग गर्ने हो भने तपाईहरुले भनेको कुरा लागु गर्न सम्भव छ,’ भनेका थिए ।
श्रोतका अनुसार अध्यक्ष प्रचण्डले विप्लवसँग एकताका लागि छलफल गर्न महरालाई पठाएका हुन् । महरासँगै वाइसिएलका पूर्व अध्यक्ष गणेशमान पुन पनि सहभागी थिए ।