
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । भर्चुअल माध्यमबाट बैठक चलिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता नेपाल सहित २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।
स्रोतका अनुसार स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी र सांसदहरुको पनि बैठक बस्ने छ । एक नेताका अनुसार आज वा भोलि केन्द्रीय समितिको बैठक बस्नेछ ।
एक नेताका अनुसार नेपाल समूहका अधिकांश केन्द्रीय समिति र जनसंगठनका नेताहरुले पार्टी फुटाउन नेताहरुलाई सुझाव दिइरहेका छन् । यसबारे पनि आजको बैठकमा छलफल भइरहेको बताइएको छ ।
अहिलेको दलसम्बन्धी ऐनअनुसार नेता नेपालले आधिकारिक रुपमा एमाले विभाजन गर्न नसक्ने भएपछि त्यसबारे पनि छलफल भएको छ । नेता नेपाललाई दल विभाजन गर्न सजिलोको लागि अध्यादेश ल्याउन सरकार तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले वचन दिइसकेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसबारे छलफल गरेका छन् । नेता नेपाल पनि अब ओलीसँग बस्न नसक्ने अवस्थामा पुगेका छन् । तर, भीम रावल, योगेश भट्टराईलगायतका नेताहरु पार्टी विभाजन गर्न नहुनेमा जोड दिइरहेका छन् ।
यसैबीच एमालेको जारी बैठक आज पनि बस्ने भएको छ । दिउँसो तीन बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । अस्ती बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने सांसदहरुलाई स्पष्टिकरण सोधेको थियो ।
स्पष्टिकरण सोधेपनि सांसदहरुले अहिलेसम्म पनि स्पष्टिकरण दिएका छैनन् ।