
२०७८ साउन ५ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादु देउवालाई विश्वासको मत दिएको नेकपा (एमाले) का नेता माधव कुमार नेपाल समूह सरकारमा सहभागी नहुने भएको छ । देउवाले नेपाल समूहसहित मन्त्रिमण्डल विस्तार गर्न चाहेपनि नेपाल समूहले तत्काल सहभागी नहुने जवाफ पठाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संयुक्त रुपमा भेटेर सरकारमा आउन आग्रह गरेका थिए । सरकारमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड र यादवले उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा समेत छलफल भएको बताइएको छ ।
अध्यक्ष प्रचण्डले मंगलबारै प्रधानमन्त्री देउवासँग भेटेर साझा कार्यक्रम बनाएर सरकार संचालन गर्ने प्रस्ताव गरेका थिए । देउवाले प्रचण्डको प्रस्ताव स्वीकार गर्दै साझा कार्यक्रम बनाएर प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न तयार रहेको बताए । देउवा र प्रचण्ड विश्वासको मत दिने सबै दलहरुलाई सरकारमा सहभागी गराउनेबारे पनि सहमत भएका छन् ।
यसैबीच जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले १० गते पछि सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने नेताहरुले बताएका छन् ।
सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थियो । बहुमत सांसदहरु उपेन्द्र समूहमा छन् ।
अल्पमतमा परेको महन्थ ठाकुर समूहले पार्टी एकताको पहल गरेपनि यादवले अस्वीकार गर्दै आफ्ना गतिविधि अगाडि बढाएको छ । जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । आयोगले विवाद टुंगो लगाएपछि साउन १० गतेपछि जसपाले सरकारमा सहभागिता जनाउने भएको छ ।