
काठमाडौँ । नेकपा (एमाले) को १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने ओली समूहकै नेताहरु पनि अनुपस्थित रहेको बताइएको छ ।
बैठकमा विश्वासको मत दिने सांसदलाई कारवाहीको मुख्य एजेण्डा छ । उनीहरुमाथि कसरी र कुन प्रक्रियामा कारवाही गर्नेबारे छलफल भइरहेको छ । सर्वोच्च अदालतको फैसलाका कारण ह्वीप उलंघन गरेको आरोपमा कारवाही गर्न नमिल्ने भएकोले पार्टी अनुशासनको कारवाही गर्ने तयारी भइरहेको छ ।
त्यसैगरी बैठकमा पार्टीको विधान अधिवेशन, देउवा सरकारविरुद्ध रणनीति लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् । नेपाल समूहका ८ जनाले देउवालाई विश्वासको मत नदिएपनि बैठकमा भने सहभागी भएका छैनन् । मतदानमा सहभागी नभएका नेताहरुलाई पनि कारवाही गर्ने एमाले नेताहरुले बताएका छन् ।
मतदानमा सहभागी नभएका नेताहरुले पार्टी एकताको प्रयास जारी राख्ने बताएका थिए तर देउवाको पक्षा लाग्ने र अनुपस्थित हुने दुबैसँग एकता हुन नसक्ने ओली समूहका नेताहरुले बताउँछन् ।
त्यस्तै नेकपा एमालेले यसअघि आगामी साउन २५ गतेबाट विधान अधिवेशन बोलाउने निर्णय गरेकाले त्यसको तयारीका बारेमा समेत केन्द्रीय समिति बैठकले निर्णय गर्ने बुझिएको छ ।
यसैबीच देउवालाई मतदान गर्ने ओली समूहका नेता किसान श्रेष्ठले आफू नेता माधव कुमार नेपालतिर लागेको संचारमाध्यमलाई बताएका छन् । उनले महेश बस्नेतले पनि नेपाल समूहतिर आउनै पर्ने बताएका छन् ।