
काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने कारवाही लगायतका विषयमा आजको बैठकमा छलफल हुनेछ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बस्न लागेको आजको बैठकको मुख्य एजेण्डा कारवाहीको एजेण्डा भएको बताइएको छ । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले पनि आजको बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने बताए ।
एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतको आदेश विपरित एमालेले प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा सांसदहरुलाई ह्वीप लगाएको थियो । पार्टी ह्वीपलाई ओली समूहकै ८ जना सांसदहरुले उलंघन गरेका थिए । नेता नेपाल र ओलीका ८ गरी ३३ जना सांसदहरुले देउवालाई विश्वासको मत दिएका थिए । जसमध्ये ८ जनाले संसद बैठक बहिस्कार गरेका थिए ।
सचिव तामाङले पार्टी पद्धति, पार्टी विधान र पार्टीको अनुशासन उल्लङ्घनसँग जोडेर कारबाही गर्ने बताउँछन् । विश्वासको मत दिएकै कारण कारवाही गर्न नपाइने भएकैले पार्टी अनुशासनको कारवाही गर्ने एमालेले तयारी गरेको हो । सांसद पद जाने गरी प्रक्रिया पूरा गरेर कारवाही गर्ने सचिव तामाङे बताए ।
सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार संसदमा विश्वासको मत लिएका छन् । विश्वासको मत दिने विषयमा ओली र नेपाल समूह दुबै विभाजित भएका छन् । ओली समूहहका ८ सांसदले फ्लोर क्रस गरी मत दिएका छन् भने नेपाल समूहका ८ जना सांसदले बहिस्कार गरेर हलबाट बाहिरिएका थिए ।
देउवालाई ओली समूहका सांसदहरु प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकीले मत दिएका छन् ।
त्यस्तै, नेपाल समूहबाट माधव कुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपानेलगायतले देउवालाई विश्वासको मत दिए ।
त्यसैगरी नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डे संसद बैठकबाट बाहिएर मतदानमा सहभागी भएनन् ।