
काठमाडौँ । प्रधानमन्त्री शेरबहादु देउवाले विश्वासको मत पाएका छन् । एक महिनाभित्र विश्वासको मत लिने गरी सर्वोच्च अदालतको परमादेशबाट नियुक्त भएका देउवाले पहिलो बैठकबाटै विश्वासको मत पाएका हुन् । सर्वोच्चको आदेशमा आइतबार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो ।
प्रधानमन्त्री नियुक्त भएको एक हप्ता नवित्दै देउवाले आइतबार विश्वासको मत मागेका थिए । योसँगै सत्ताबाट प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको नेकपाले एमालेको संस्थापन र नेता माधव कुमार नेपाल पक्ष नै विभाजित भएका छन् ।
लामो समय ओलीसँगै रहेका एमालेका सुदूरपश्चिमका सांसद प्रेम आलेसहित ८ जना सांसहरुले देउवालाई विश्वासको मत दिएका छन् । उनीहरुले एमालेको ह्वीपलाई उलंघन गरेका छन् । सर्वोच्चले संविधानका धारा ७६ (५) अनुसार विश्वासको मत लिँदा पार्टी ह्वीप नलाग्ने फैसला गरिसकेको थियो । यसले ह्वीप उलंघन गर्ने सांसदहरुलाई एमालेले कारवाही गर्न सक्ने छैन ।
त्यसैगरी नेता नेपाल समूह पनि दुई भागमा विभाजित भएको छ । सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री नियुक्त गरियोस् भनेर हस्ताक्षर गर्ने २३ जना सांसदहरुमध्येकै ८ जनाले विश्वासको मत दिएनन् भने उपाध्यक्ष तथा भीम रावलले सांसद पदबाट राजिनामा दिएका छन् ।
सत्ता सहकार्यलाई विभाजनमा मुखमा पुगेको जनता समाजवादी पार्टीका दुबै समूहले देउवालाई विश्वासको मत दिएका छन् । जसपासँग ३२ सांसद छन् । अध्यक्ष उपेन्द्र यादव समूहमा २० जना पुगेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुरसँग १२ जना मात्रै । तर, दुबै समूहले विश्वासको मत दिए ।
प्रधानमन्त्री देउवाले १६५ मत पाएका छन् भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना सांसद तटस्थ रहे ।
आइतबार राति भएको मतदानमा देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा भएको मत विभाजनमार्फत भएको मतदानमा देउवाले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन् ।
देउवाले विश्वासको मत लिएसँगै एमालेभित्रको विवाद झन गिजोलिएको छ । कुल १२१ सांसद रहेको एमालेमा अब ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ ।
ओली समूहका सांसदहरु प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी रहेका छन् । त्यस्तै, नेपाल समूहबाट देउवालाई विश्वासको मत नदिनेमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार, दिपक भट्ट, नारायण खतिवडा, झपट रावल र सोमनाथ पाण्डेले मत दिएनन् ।
त्यस्तै, माधव कुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ, पवित्रा निरौला र मुकुन्द न्यौपानेलगायतले देउवालाई विश्वासको मत दिए ।